रौतहट । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।
कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रेम सम्बन्धको विषयलाई लिएर युवकमाथि कुटपिट गरेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले कुटपिटबारे उजुरी परेको बताए । पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नहरु फरार रहेको एसपी शाहले बताए ।
‘घटनामा संलग्नको खोजी भइरहेको छ, अहिले अनुसन्धानकै क्रममा छौँ, साझसम्म केही आउँला’ एसपी शाहले भने । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ ।
Comment