काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न गृहमन्त्री एवम् नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ वरिष्ठ नेता माधकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेका छन् ।
बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको लागि हुने जेठ ६ गते हुने उपनिर्वाचनमा बादल एमालेबाट उम्मेदवार छन् । पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद सुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर संघीयताविद् डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।
पछिल्लो समय संस्थापन पक्षसँग वार्तामा रहेको नेपाल पक्ष राष्ट्रियसभाको उपनिर्वाचनमा कसको पक्षमा उभिन्ने भने विषय प्रष्ट पारेको छैन । यसै समयमा बादलले नेपाललाई भेटेर उपनिर्वाचनमा आफूलाई सघाइदिन आग्रह गरेका हुन् ।
एमाले एक भएको खण्डमा बादलले जित्ने लगभग पक्का छ । एमालेका उम्मेदवार बादलका पक्षमा मतदान गर्न महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र स्थानीय निकायका प्रमुख, उपप्रमुखलाई सोमबार पार्टी तर्फबाट ह्वीप जारी गरिसकेका छन् ।
Comment