काठमाडौं। काठमाडौं उपत्यकामा आजरदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिडको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।
काठमाडौं प्रशासनले बुधबार एक सूचना जारी गरी कोरोनाको महामारी तीव्र रुपमा बढिरहेकाले त्यसको नियन्त्रणका लागि उक्त निर्णय गएिको जनाएको छ ।
निषेधाज्ञाको अवधिभर निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म खुला रहने छ। उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र बिक्री गर्न) खुला हुने छ। मानिसको भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको छ।
सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउने छैन।
सार्वजनिक एवं निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ।
होटल तथा पार्टी प्यालेसमा विवाह, व्रतबन्ध गर्न रोक लगाइएको छ। घरमै उक्त कार्य गर्दा १० जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ।
यस्तै आजैदेखि लागू हुनेगरी अत्यावश्यक सेवा दिने कार्यालयबाहेक सबै कार्यालय बन्द गरिएको छ। अत्यावश्यक सेवा दिने कार्यालयले पनि न्यून कर्मचारी राख्नुपर्ने आदेशमा उल्लेख छ। अहिलेसम्म यसैगरी मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी भएको छ।
उपत्यकाको तीन जिल्ला (काठमाडौं), ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको हो ।
Comment