काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको कृतिम अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न माग गरेको छ ।
नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले आइतबार संचारकर्मीसँग कुरा गर्दै तत्काल अक्सिजनको तत्काल आपूर्ति र कृतिम अभाव सिर्जना गर्नेलाई कारवाही गर्न माग गरेका हुन् ।
उनले आवश्यक अस्पताल र बेडको व्यवस्था सुनिश्चितता गर्न र आवश्यकता अनुसार विदेशबाट पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न पार्टीका तर्फबाट सरकारको ध्यानकर्षण गराए ।
काठमाडौं उपत्यकाका धेरै अस्पतालहरुमा अक्सिजनको गम्भीर अभाव हुन थालेको र यसले गर्दा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का विरामीहरुले नपाउने अवस्था सृजना हुनु दुःखद भएको उनले बताए । सरकार कोभिड–१९ को उपचारमा देखिएको गम्भीर समस्याप्रति अझै संवेदनशील नभएको डा. महतले आरोप लगाए ।
देशका विभिन्न ठाउँहरुमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालहरुको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चित गर्न महतले सरकारसँग माग गरे । खोप किन्ने सन्दर्भमा सार्वजनिक भएका भ्रष्टाचारका विषयमा गम्भीर छानविन हुनुपर्ने उनले बताए । ‘सबै नागरिकले छिटो खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्छ,’ उनले भने ।
Comment