‘अक्सिजनका खाली सिलिण्डर उत्पादक प्लान्टलाई उपलब्ध गराउनुहोस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। निजी क्षेत्रका तीन प्रमुख संस्थाले अक्सिजनको खाली सिलिन्डर उत्पादक प्लान्टलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षत्रयले विहीबार संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरी उक्त आग्रह गरेको हो ।

विज्ञप्तिमा कोभिड–१९ को उपचारमा महत्वपूर्ण मानिएको अक्सिजन सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन भनिएको छ ।

अस्पताल भरिदै गएका र विशेषगरी संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको भन्दै सम्पूर्ण अक्सिजन ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन निजी क्षेत्रको आग्रह छ ।

संयुक्त विज्ञप्तिमा भनिएको छ,’महामारीको विषम परिस्थितिमा कुनै पनि प्रकारको सञ्चिति र मूल्य वृद्धि नगर्न हामी निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू सम्वद्ध सबै व्यवसायीहरूमा अपील गर्दछौँ ।

अहिलेको अवस्थामा ठूला उद्योगी एवं वितरकहरूले पनि समग्र वितरण प्रणालीमा अनावश्यक मुल्यवृद्धि हुन नदिन आवश्यक अनुगमन गर्न पनि आह्वान गर्दछौँ ।’

आम उपभोक्ता वर्गमा सामानको मौज्दात रहेको जानकारी गराउँदै अनावश्यक सञ्चिति नगरिदिन हुन पनि अनुरोध गरिएको छ । त्यस्तै, केही निजी अस्पतालले विषम परिस्थितिमा चर्को शुल्क लिइ उपचार गरिरहेको भन्ने समाचारतर्फ पनि हाम्रो ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बिरामीको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पताल मुलुक सङ्कटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्फ लाग्नु हुने छैन भन्ने पनि हामीले विश्वास लिएका छाैं ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।