काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका छन् ।
केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास पुगेका हुन् ।
लुम्बिनी प्रदेशसहित केन्द्रमा समेत राजनीतिक उथलपुथल भइरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् ।
आज बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएसँगै उनले नयाँ सरकार बनाउन पहल गरिरहेका बेला विमला वली माओवादी केन्द्रतिर लागेपछि उनी धरापमा परेका छन्।
वलीले नेकपाका तर्फबाट दाङ प्रदेशसभा ३ (ख)बाट उपचुनाव जितेकी थिइन्। सर्बोच्च अदालतको फैसलाले माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।
तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।
Comment