काठमाडौं। प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ ।
हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताए ।
“अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उनले भने, “संवेदनशील क्षेत्रमा निगरानी समेत बढाइएको छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । मंगलबार फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
Comment