रामेछापमा माझी समुदायका लागि एकीकृत नमुना बस्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापमा निर्माण भएको एकीकृत नमुना बस्तीको शनिबार उद्घाटन गरेका छन्। 

रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीस्थित डफ्काको माझी गाउँमा निर्मित एकीकृत नमुना बस्तीको उनले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्। 

एकीकृत नमुना बस्तीको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले जनताको सुरक्षित आवासका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास, जनता आवास, खरको छानो मुक्त कार्यक्रममार्फत काम गरिरहेको बताए।

उनले प्रदेश सरकार आवास विहीन नागरिकलाई व्यवस्थित आवासको व्यवस्था गर्न लागि पर्ने प्रतिवद्धता जनाएका मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले बताए।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले एकीकृत पर्यटकीय बस्ती निर्माणसँगै डब्खाका सीमान्तकृत माझी समुदायको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए।

उनले एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरेर आर्थिक उपार्जन गर्न सकिने भन्दै एकीकृत वस्ती विकासको अवधारणालाई आगामी दिनमा समेत जोड दिनुपर्ने बताए।

सरकारको २ करोड २५ लाख

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेल, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको पहलमा नमूना बस्ती समुदायलाई हस्तान्तरण गरिएको हो ।

बस्ती निर्माणका लागि बागमती प्रदेश सरकारले डेढ करोड र गाउँपालिकाले ७५ लाख रुपैयाँ विनियोजन गरेको थियो। एकीकृत बस्तीमा हाल ४२ वटा २ कोठे घर बनेका छन्। बस्ती निर्माणको लागि स्थानीय माझी समुदायले २६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।

कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले जिल्लामै पहिलो एकीकृत नमुना बस्ती निर्माण हुनु खुसीको विषय भएको बताए।

सुविधा

बस्तीभित्र ४२ वटा घरसहित चिल्डेनपार्क, टावर, सभा हल, स्विमिङ पुललगायतका पूर्वाधार निर्माण हुनेछन्। एकीकृत वस्तीमा सामुदायिक भवन, खेल मैदान लगायतका संरचना निर्माण गरिएको छ। गाउँपालिकाले एकीकृत बस्तीलाई होमस्टेको रुपमा विकास गर्ने लक्ष्य लिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।