कोरोना बीमा : ५६ हजार दाबीमध्ये २९ हजारले पाए भुक्तानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना बीमा भुक्तानी नपाएको भन्दै गुनासो बढिरहेको बेला कोरोना बीमा भुक्तानी पाउनेको संख्या बढेको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार गएको बुधबारबारसम्म ५६ हजार ९८ जनाको प्रक्रिया पुरा भएकोमा २९ हजार २८५ जनाले भुक्तानी पाएका छन् ।

उनीहरुलाई कुल २ अर्ब ८५ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।

२ हजार ९ सय २६ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले ढिला भएको भन्दै सबै कागजात पेस गर्न अनुरोध गरेको छ । दोहोरो बीमा दावी गर्ने २०३ जनाको फाईल बीमा दावी भुक्तानी नपाउने गरी फाईल क्लोज गरिएको छ ।

तथ्याङ्क अनुसार ९ हजार ३ सय ९४ वटा फाईल स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा रोकिएको छ ।

इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरणसँग आवेदकको नाम प्रमाणित गरेर मात्रै कोरोना बीमा रकम भुक्तानीका लागि स्वीकृति दिइन्छ।

समितिका अनुसार १६ हजार २९० वटा आवेदन महाशाखामा प्रमाणीकरणका लागि पठाइएकोमा ६ हजार ८ सय ९६ वटा स्वीकृत भएर आइसकेको छ।

त्यस्तै ४ हजार ४४५ वटा आवेदन प्रमाणिकरणको प्रक्रियामा छ। यसका अलावा ९ हजार १११ आवेदन बीमक संघको भेरिफीकेशन प्रक्रियामा रहेका छन ।

उनीहरुले दावी भुक्तानीको लागि एउटा कम्पनीबाट कागजात पेश गरिसकेको अवस्थामा पुनः दोस्रो पटक पनि दावी भुक्तानीको लागि कागजात पेश गरेकोले दावी भुक्तानी नदिने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

बिमालेख खरिद गरेका बिमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बिमा कम्पनीमा निवेदन दिनुपर्ने र सम्बन्धित कम्पनीले सबै कागजात पूरा भएर नभएको यकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बीमा पुल व्यवस्थापक कम्पनीमा पठाउनु पर्नेमा केही फाइलमा कागजात पूरा नभएकोले बिमाको दाबी भुक्तानीमा ढिलाइ भएको समितितको भनाइ छ।

समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

हाल कोरोना बीमामा बीमितहरुको उल्लेख्य सहभागिता भएपनि सो बीमा दाबी भुक्तानी भने बीमितको अपेक्षा अनुसार हुन सकेको छैन । बैशाखको पहिलो सातादेखि संचालनमा आएको कोरोना बीमामा भदौ अन्तिम सातादेखि मोडेल परिवर्तन गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।