पाँच महिनामा ४ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिना अवधिमा मुलुकमा चार खर्ब १६ अर्ब ८१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। 

विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले बैंकिङ च्यानलमार्फत उक्त रकम पठाएका हुन्। हुण्डीलगायत गैरकानुनी माध्यमबाट भित्रिने रकम यसमा समावेश गरिँदैन।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म मुलुकमा भित्रिने रेमिट्यान्स गत वर्षको तुलनामा १०.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो। 

अमेरिकी डलरतर्फको रेमिट्यान्स पनि ६.४ प्रतिशतले बढेर तीन अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.४ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा घटेको छ। गत मङ्सिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.९ प्रतिशतले घटेको हो। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो। यो वर्ष कोरोना भाइरसको महामारीका कारण अधिकांश मुलुकमा निषेधाज्ञा लागू गरिएका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो। 

राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७.६ प्रतिशतले बढेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।