काठमाडौं ।बैतडीमा बिहीबार राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।
दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।
सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
मृतकहरुको सनाखत हुन बाँकी छ । मृतकमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ ।
तस्बिर सौजन्य: कैलाश जोशी
बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए । मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले दिउँसो मात्रै निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो ।
तिहार मनाउन गन्तव्य हिडेका यात्रु बोकेको बस भिरबाट खसेकाले ठूलो क्षति भएको हो । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार-७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहुु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।
Comment