रसुवागढी र सान्जेनको बिजुली जोडिने प्रसारण लाइनको जग्गा प्राप्ति कार्य सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चिलिमे त्रिशुली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नुवाकोटमा जग्गा प्राप्तिको कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सो आयोजनाको लागि नुवाकोटमा पर्ने जग्गा प्राप्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो ।

आयोजनाले टावर रहने स्थानको १५-१५ मिटर भित्र पर्ने जग्गाहरु तथा भौतिक संरचना घर, टहराहरु प्राप्ति गर्न लागेको हो । आयोजनाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र तोकिएको स्थान जग्गा पर्ने जग्गाधनीले भोगचलनको प्रमाण सहित निवेदन दिन आग्रह गरेको छ ।

त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्रसारण लाइन र बस्टेसनको निर्माण गर्न लागिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ । 

यो प्रसारण लाइन आयोजना नबने वा ढिलो बनेमा जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने छ। 

यो प्रसारण लाइनमा २१६ मेगावटको माथिल्लो त्रिशूली एक, १२० मेगावाटको रसुवा भोटेकोशी, १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ४२.५ मेगावाटको सान्जेन, २० मेगावाटको लाङटाङखोला, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए को विद्युत् जोडिने छ । यो प्रसारण लाइनमा पाँच सय मेगावाट विद्युत् जडान गर्न सकिने छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।