दुई महिने शिशुलाई कलेजो दिने बुवामा समर्पित निशानको गीत ‘जिन्दगी’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाई उनका बुवाले कलेजो दिएर ज्यान बचाए। मृत्युसँग जुधिरहेका शिवाशंलाई आफ्नै कलेजो दिएर नयाँ जीवन दिएका बुवा महेश अवस्थीको यही वास्तविक घटनामा आधारित भएर गीत बनाइएको छ।

गायक निशान भट्टराईले गाएको ‘जिन्दगी’ गीतको भिडिओमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई ‘फिचरिङ’ गरिएको छ।
  
कमला सापकोटाको शब्द, संगीत रहेको गीतमा हेमराज थापाको गीतको संगीत संयोजन रहेको भने युवराज वाइवाले म्युजिक भिडिओ निर्देशन गरेका हुन्।

जन्मिएको १४ औँ दिनदेखि विरामी परेका शिवांशलाई महेशले दक्षिण भारत चेन्नाईको डा. रेला अस्पतालमा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए। नेपालमा एक महिनासम्म आईसीयूमा राखेर उपचार गर्दा पनि रोगको राम्रोसँग निराकरणसमेत नहुँदा मध्ययम वर्गीय महेशले भारत पुगेर करोड बढी खर्च गरि छोरालाई बचाएका थिए।

महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न उद्येलित बनाएको संगीतकार कमलाको भनाइ छ। उनले भनिन्, ‘गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौं।’

नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभूति गरेको गायक निशानले बताए। उनले भने, ‘‘स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ। शब्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रूपमा पनि लिएको छु।’’

गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ। गीतबाट आउने सम्पूर्ण रोयल्टी शिवांशको उपचारको लागि सहयोग गरिने उनले बताए।

लकडाउनअघि श्रीमती र उपचाररत छोरालाई अस्पतालमै छोडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझै फर्किन पाएका छैनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।