आकाशे पानीले रानीपोखरी भर्ने योजना, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट संकलन गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आकाशे पानीले रानीपोखरी भर्ने योजना बनाएको छ ।

पानी संकलन गर्नका लागि प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच आज भएको अन्तक्र्रियामा ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताएका हुन् ।

रानीपोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्द्र कलेज लगायतका क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी छ ।

विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रहेको प्राधिकरणको भनाइ छ ।

पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिएका छन् । डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न उनले सुझाएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताए ।

त्यसैगरी, सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाए भने संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपायहरु अपनाउँदै पानी भर्न आग्रह गरे ।

स्थानीय  गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू व्युँताउने उपायतिर लाग्न सुझाए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।