अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाै‌ं । कोराेनाकाे सङ्क्रमण बढ्दै गएपछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । गृहमन्त्रालयका अनुसार अत्यावश्यक कामबाहेकका व्यक्तिलाई प्रवेशमा कडाइ गरिएको हो ।

मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भन्नुभयो, ‘अत्यावश्यक कामका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाएर जाँदा प्रवेशमा कुनै समस्या छैन तर सामान्यरुपमा भेटघाट, गफगाफका लागि भने ध्यान दिनै पर्छ, त्यसमा रोक लगाएको हो ।’ जोखिम नबढोस् भनेर ध्यान दिनुपर्ने भएकाले अत्यावश्यक कामबाहेकका लागि उक्त व्यवस्था लागू गरिएको उहाँले जानकारी दिनुभयो । भित्रबाट पास पठाएर प्रवेश अनुमति दिने कार्यमा पनि तत्कालका लागि रोक लगाइएको छ ।  

अहिलेको जटिल परिस्थितिमा नागरिक आफैँले पनि सुरक्षा सावधानी अपनाउन र अत्यावश्यक काम नपरी बाहिर ननिस्किन तथा सिंहदरबार नआउनसमेत उहाँले अनुरोध गर्नुभएको छ । प्रेस पास भएका पत्रकारलाई कुनै रोक नलगाइएको उहाँले बताउनुभयाे।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा काेराेनाकाे सङ्क्रमण बढिरहेको छ । मङ्गलबार मात्रै उपत्यकामा ६२ जनामा कोभिड–१९ देखिएको छ । 

सङ्क्रमण बढेपछि उपत्यका प्रवेशमा थप कडाइ गरिएको र स्वास्थ्य मापदण्ड लागू नगर्ने व्यक्ति वा व्यावसायिक प्रतिष्ठानलाई कारवाही गर्न थालिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँले अटेर गर्नेलाई कैद सजाय गर्ने चेतावनीसमेत दिनुभएको छ ।– रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।