सिमानाको आवागमनमा कडाइ गर्न देउवाको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई सीमा नाकामा कडाइ गर्न सुझाव दिएका छन्।

नेपाली नागरिकको उद्धार गर्नुपर्ने बाहेकको स्थितिमा सिमानाको आवागमनमा पनि कडाइ गर्न देउवाले आग्रह गरे। भारतबाट लुकीछिपी कोरोना संक्रमित नेपाल आउँदा संक्रमण बढिरहेका बेला देउवाको यस्ताे सुझाव आएको हो।   

मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा देउवाले आरडीटी परीक्षण अन्त्य गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल गर्ने गरी बन्दोबस्त गर्न, स्वास्थ्य सामग्रीको पर्याप्त प्रबन्ध, अत्यावश्यक औषधि रेमडीसीभरको आयातमा तदारुकतासँगै आइसोलेसन वार्ड र भेन्टिलेटर प्रवन्ध गर्न पनि सुझाएका छन्।

यससँगै मापदण्डअनुसारको क्वारेन्टाइनको व्यवस्थापन, विज्ञहरूसँगको परामर्शलाई नियमितता दिँदै निर्मित रणनीतिको चुस्त कार्यान्वयनमा तदारुकता देखाउन र उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरी सोहीअनुसारको रणनीति बनाएर कार्यान्वयन गर्न पनि सुझाएका छन्।

पार्टीका तर्फबाट देउवाले क्वारेन्टिन ब्यवस्थापन, विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्धारका लागि पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सीमानाका सिल गर्न, सुरक्षाका लागि मास्क लगाउन अनिवार्यसँगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग गर्न पनि देउवाले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

उनले परिस्थिति अनुरुपको रणनीति निर्माणका लागि विज्ञसँग नियमित परामर्श गर्न र रणनीतिको चुस्त कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए।

‘विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस, विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस र बर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस्’ कांग्रेसका तर्फबाट प्रधानमन्त्रीलाई दिइएको सुझावमा भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।