काठमाण्डौ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले आफ्नो वेबसाइटबाट डाटा चोरीको प्रयास भईरहेको जनाएको छ ।
नेप्सेले मंगलबार सूचना जारी गर्दै संस्थाको आधिकारिक वेबसाइट nepalstock.com.np तथा nepalstock.com मा कारोबारसम्बन्धी विवरण ढिला देखिने, निश्चित क्षेत्रमा निश्चित समयका लागि कारोबार विवरण नदेखिने समस्या उत्पन्न हुनुको कारण अनधिकृत रुपमा ‘डेटा एक्सट्र्याक्ट’ गर्ने निरन्तर प्रयास नै प्रमुख रहेको दाबी गरेको हो।
यसको कारण वेबसाइटमा विवरण हेर्न खोज्नेको संख्या कृतिम रुपमा अत्याधिक बढेको र सर्वसाधारणलाई डाटा हेर्न असहज भएको नेप्सेले जनाएको छ । यहि कारण नेप्सेको वेबसाइटमा कारोबार विवरण ढिलो देखिने, निश्चित समयको लागि कारोबार विवरण नदेखिने समस्या भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार कोड प्रयोग गरी अनाधिकृत रुपमा वेबसाइटमा पहुँच स्थापित गरी सेवा नै अवरुद्द गर्ने प्रयाससम्म भएको छ । यी कार्य रोक्न हाललाई प्राविधिक उपाय अपनाएको तर यो क्रम नरोकिए आगामी दिनमा कानुनी उपाय खोज्ने नेप्सेले चेतावनी दिएको छ ।
नेप्से स्रोतका अनुसार यसरी अनाधिकृत रुपमा डाटा विवरण तान्ने प्रयास गर्नेमा मिडिया, बैंक तथा वित्तीय संस्था, पोर्टफोलियो सेवा प्रदायक, डाटा सर्भिस प्रदायकलगायत रहेका छन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
Comment