देउवाविरुद्ध पौडेल–कोइराला समूहको गोप्य भेला, को- को थिए सहभागि ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धमाधम विभागहरू गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला समूहले भेला तथा छुट्टै गतिविधिहरू गर्न थालेको छ ।

विभाग गठनको विरोध गर्दै आएको पौडेल–कोइराला समूहले असन्तुष्टि जनाउन भक्तपुरमा सोमबार गुटको भेला गरेको छ । भेलामा पूर्वसभापतिहरूको सहभागिता रहेको थियो ।

पौडेल–कोइराला समूहले सभापति देउवाविरुद्ध देशव्यापी रुपमा अभियान नै सञ्चालन गर्ने निर्णय गरेका छन् ।

पौडेल समूहका कांग्रेसका पूर्वसभापति तथा भ्रातृ संगठनका पूर्व एवं वर्तमान सभापतिले पार्टीको वर्तमान नेतृत्व पूर्णरुपमा असफल भएको जनाउँदै विकल्प खोज्ने निष्कर्ष निकालेका छन् ।

भेलामा उपस्थितहरूले शेरबहादुर देउवाको नेतृत्व पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ ।

मुलुकमा नेकपा नेतृत्वको सरकारले गरेको विभिन्न असंवैधानिक कामको विरोध गर्न नसकेको पौडेल–कोइराला समूहको आरोप छ ।

भ्रष्टाचार र जातीय विभेदका घटना बढ्दा पनि विरोध गर्न नसकेको भन्दै उनीहरूले प्रेस स्वतन्त्रतामाथि आक्रमण हुँदा पनि कांग्रेस नेतृत्व मौन बसेको आरोप लगाएका छन् ।

न्यायालय र संवैधानिक अङ्गलाई समेत आक्रमण गर्दा पनि देउवाले कुनै विरोध नजनाउनु नै नेतृत्व असफलता रहेको पौडेल समूहका नेताहरूको भेलाले ठहर गरेको छ ।

भेला नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थले आयोजना गरेका थिए ।

भेलामा १४औंँ महाधिवेशनमा वर्तमान नेतृत्वको विकल्प खोज्न पार्टी सभापति देउवाविरुद्ध आठ नेताले सहमतिबाट एक मात्रै सभापतिको उम्मेदवारी दिने निर्णय गर्नुपर्ने धारणा सहभागीले राखेका थिए ।

भेलामा काठमाडौंका पूर्वसभापति तीर्थराम डङ्गोल, रामेछापका रामचन्द्र खड्का, रसुवाका बालचन्द्र पौडेल, सिन्धुलीका मोहन बराल, सर्लाहीका लक्ष्मण राय, सिन्धुपाल्चोकका भूपेन्द्र थापा, पूर्वसांसद हर्षजीत लामा, नेपाल किसान संघका सभापति भानु सिग्देल, नेपाल शिक्षक युनियनका अध्यक्ष मोहन ज्ञवाली, स्ववियूकी पूर्वसभापति विनिता अधिकारी, नेविसंघ पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईँ, पूर्वमहामन्त्रीद्वय मनोजमणि आचार्य र प्रतिमा गौतम, कांग्रेसका अष्ट कवेँलगायतका नेताहरूको भेलामा सहभागिता रहेको थियो ।

भेलामा २५ जिल्लाका पूर्वसभापति, भ्रातृ सङ्गठनका वर्तमान र पूर्वअध्यक्ष एवं विभिन्न सङ्गठनका पदाधिकारी, पूर्वसांसदलगायतको सहभागिता रहेको पौडेल–कोइराला समूहको दाबी छ ।

भेलाका सहभागीहरूले भक्तपुरबाट शुरु भएको सभापति देउवाविरुद्धको अभियान सातै वटा प्रदेशमा गर्ने निर्णय पनि गरेको छ ।

कम्युनिस्टहरूको बेथितिका विरुद्ध मिलेर अगाडि बढ्नुपर्ने बेला नेपाली कांग्रेसभित्र विवाद र गुटका भेलाहरू शुरु भएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।