काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीविरुद्ध केही भारतीय सञ्चारमाध्यमले अनर्गत, कपोकल्पित, भ्रामक र आपत्तिजनक समाचार प्रशारण गरिरहेका छन् ।
नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गरेर संसदबाट अनुमोदन गराएपछि भारतीय मिडियाहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचारमा लागेका छन् ।
नेपालको आन्तरिक मामिलामा भारतको संस्थापन पक्षले हस्तक्षेप गर्दै आएको छ भने भारतीय मिडियाहरुले नेपाल र नेपालीको मानमर्दन गर्दै अनर्गल प्रचार गर्दै आएका छन् ।
सार्वभौम मुलुकको प्रधानमन्त्री र छिमेकी देशको राजदूतलाई जोडेर अनर्गल प्रचार गर्नुले भारतीय मिडियाको बौद्धिकता शून्य भएको देखिन्छ भने भारतीय सरकार रमिते बन्नुलाई कूटनीतिज्ञहरुले गम्भीर रुपमा हेरेका छन् ।
यस्ता नेपालविरोधी हर्कत प्रमविरुद्धको लड़ाइँ मात्र नभई सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतामाथिको नाङ्गो आक्रमण भएकाले यस्तो क्रियाकलापलाई किमार्थ स्वीकार्न नसकिने कूटनीतिज्ञहरुले बताएका छन् ।
सरकारी वाहेक सवै भारतीय च्यानल बन्द
नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर एमएसओहरूले भारतीय न्युज च्यानलहरूको प्रसारण बिहीबारदेखि नेपालमा बन्द गरेका हुन् । भारतीय च्यानलमा नेपालविरुद्ध भ्रमणपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण हुन थालेपछि च्यानलका ग्राहकहरूले फोन र म्यासेज गरी त्यस्ता च्यानल बन्द गर्न वितरकहरूलाई आग्रह गर्दै आएका थिए ।
डिसहोम, मेगा म्याक्स, डिएसएन, मेरो टिभीलगायतले सामूहिक रुपमा आजतक, जीन्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गर्ने निर्णय गरेका हुन् । डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार, सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल बिहीबार साँझदेखि नेपालमा नदेखिने व्यवस्था गरिएको हो ।
Comment