शोकमग्न समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


शोकमग्न समय

नयाँ कानुन बनिरहेछ

एउटा अन्त्यहीन मिथक

नुनको अभाव यथावत छ


उस्तै छ –

रक्तचापको पूरानो रोग !

सङ्कटको श्रृङ्खला

सङ्क्रमणको निरन्तरता

समवेदनाका बग्रेल्ती पृष्ठहरु

यात्रु र चालकटोलीको दुष्मनी

सडकभरि चल्ती छ

जनता र शासकको दुरी

दिन दुगुना–रात चौगुना लम्बिएको कटुसत्य

सुरक्षाकर्मीहरु छ्यापछ्याप्ती

ओहोरदोहोर–ओहोरदोहर

नेताहरु

आन्तरिक÷पक्षीय छलफलमा व्यस्त

निष्कर्षविहीनता

पुस्तक पसले फुटपाथमा

संविधानको पूरानै संस्करण विक्री गरिरहेछ

जेब्राक्रसिङ्को मध्यभागमा

किताब र गृहकार्यको भारीले किचिएर 

स्कुल हिंडेकी बालिकाको

मृत्युलाई देखिरहेको छैन

सेमिनारमा प्रतिवेदन बुझाउनलाई कुदिरहेको

योजनाविद्का चश्माभित्रका आँखाले

कवि

घरि घरि छिर्के लगाउन आउने

आफ्नो क्रान्तिकारी कवितालाई

विस्मृतिमा कच्याककुचुक पारेर

फाल्ने प्रयासमा छट्पटाइरहेछ 

दमले गलित 

एउटा बूढो मास्टर

सडकपेटीमा ठिङ्ग उभिएर

आफ्नो असफलता सम्झेर

शोकग्रस्त छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।