क्वारेनटाइन कोरोना भाइरस उत्पादन केन्द्र बन्ने चिन्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख । कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ ।  भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । 

आइतबार बिहानसम्म मात्र दैलेखमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । एक जनाको क्वारेनटाइनमै निधन भइसकेको छ ।  चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखका अधिकांश विद्यालय अहिले भरिसकेका छन् । 

भारतबाट जिल्ला भित्रनेको संख्या सात हजार बढी पुगेपछि निर्माण गरिएका क्वारेनटाइन मापदण्डानुसारका नभएका र कोहलपुरबाट दैलेखसम्म आउने क्रममा अव्यवस्थित रूपमा यात्रा गरेका कारण एकले अर्कोमा सजिलै कोरोना संक्रमण फैलिएको अनुमान गर्दै उच्च सुरक्षा अपनाउन थालिएको छ ।

अहिलेसम्म संक्रमित  ४७ जना सबै व्यक्ति भारतबाटै आएको र जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा बसेका मात्र रहेकाले संक्रमण क्वारेन्टिनभित्रै फैलिन सक्ने भन्दै व्यवस्थित बनाउन बारम्बार सबैलाई आग्रह गरिएको नेपाल मानव अधिकार सङ्गठन दैलेखका अध्यक्ष दीर्घराज अधिकारीले बताउनुभयो ।  

कोहलपुरदेखि अनियन्त्रित रूपमा मानिस कोचाकोच गरेर गाडीमा ल्याउनु, क्वारेन्टिनभित्र बस्नेमा आचरण नहुनु, हुल बाँधेर बस्नु सङ्क्रमण फैलनुको   कारण बताइएको छ ।  त्यस्तै प्रदेश सरकारले सुर्खेततिरै जाँच गरेर पठाउन नसक्नु, जिल्ला आएपछि पनि स्थानीय सरकारले आफ्ना नागरिक कति जना विदेश गएका छन् भन्ने तथ्याङ्क राख्न नसक्नु र सोहीअनुसार व्यवस्थापन नगर्नुले अहिले क्वारेन्टिन कोरोना उत्पादन केन्द्र बन्न सक्ने सम्भावना बढेको अधिकारीले गुनासो गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले  प्रदेश सरकारले धमाधम मानिस गाउँमा पठाउने काम गर्नुभन्दा व्यवस्थित गर्नुपर्नेमा त्यसो नगरी गल्ती गरेका कारण कोरोना गाउँगाउँमा पुगेको र अहिले समस्या उत्पन्न भएको बताउनुभयो । 

तत्कालै क्वारेन्टिनमा बसेकाहरुलाई आरडिटी र स्वाब संकलनको रिपोर्टका आधारमा सुरक्षित रूपमा होम क्वारेन्टिनमा पठाउनुपर्ने र घरमै सुरक्षित वातावरण तयार गर्नुपर्ने जिल्लावासीको सुझाव छ ।

 उपचारमा  चुनौती 

कोरोना संक्रमितको उपचारका लागि सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेशन अस्पताल भरिसकेको छ । तीस श्ययामा बिरामीको उपचार भइरहेको छ ।  चालीस शय्याको तयारी भइसकेको र अन्य तयारी थाल्दै उपचारको पहल शुरु भएको छ । एक सय जनासम्मको उपचार गराउन मिल्ने गरी तर्ताङमै व्यवस्थापनको काम अघि बढाइएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समिति अध्यक्ष लोमन शर्माले जानकारी दिनुभयो । तर्ताङको वृद्धाश्रम र नारायण क्याम्पसलाई वैकल्पिक आइसोलेशन अस्पतालको लागि तयारी थालिएको शर्माको भनाइ छ । 

भारतबाट आएका अधिकांश व्यक्तिलाई  नारायण क्याम्पसमा जम्मा गरेर राखिएकाले नारायण नगरपालिकामा पनि जोखिम बढ्दै गएको छ । पछिल्ला ४८ संक्रमितमध्ये  नगरपालिकाका विभिन्न वडाका मात्रै ३५ भन्दा बढी संक्रमित देखिएका छन् ।  

 खुला चौरमा क्वारेन्टाइन बनाउँदै महाबु 

महाबु गाउँपालिकामा क्वारेन्टिन बनाउने भवनको अभाव भएको छ । पालिकाका सबै विद्यालयलाई क्वारेन्टिन निर्माण गरी राख्दा पनि भारतबाट आएका नागरिक अटाउन नसकेपछि खुला चौरमा प्लाष्टिकको पाल टाँगेर  निर्माण गर्न बाध्य भएको महाबु गाउँपालिका अध्यक्ष जङ्गबहादुर शाहीले बताउनुभयो । 

चार नगरपालिका र सात गाउँपालिका रहेको दैलेखमा काम गरेर घर फर्कनेको सङ्ख्या बढ्दै गए पनि सबैभन्दा धेरै एक हजार नौ सय  महाबुमा आएको  अध्यक्ष  शाहीले बताउनुभयो । 

शुरुआतमा एक सय ५०  क्वारेन्टाइन मापदण्डानुसार निर्माण गरिए पनि  एक सातादेखि दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा मानिस महाबु आएका छन् । 

गाउँपालिकामा रहेका सबै विद्यालयमा क्वारेन्टिन निर्माण गरिसकिएको छ ।   त्यहाँ खाना, खाजा, पानी र रेखदेखका लागि एउटामा सात जनाको टोली खटाइएको छ । 

राजनीतिक दल र जनप्रतिनिधि व्यवस्थापनमा खटिएका छन् । विद्यालयमा मानिस भरिएपछि अब खुला चौरमा क्वारेन्टाइन बनाउनुपर्ने आवश्यकता भएको अध्यक्ष शाहीले बताउनुभयो । 

प्रदेश सरकारले गाउँपालिकालार्य  १५ लाख रुपैयाँ पठाएको छ । गाउँपालिकाको  ५० लाख रुपैयाँ विपत् कोषको रकमसमेत सकिएको छ । 

दैनिक खाना, स्वयंसेवक खर्च, उद्धारका लागि गाडी भाडा, भाडा तिर्न नसकेकालाई भुक्तानी, औषधि खरीद, दैनिक खाना खुवाउँदा लाखौँ खर्च भइसकेको र धेरै स्थानमा उधारो राखेर  काम गर्नुपरेको शाहीले बताउनुभयो ।  

रातदिन नभनेर ६०  स्वास्थ्यकर्मी, प्रहरी, गाउँपालिकाका  कर्मचारी खटिनुभएको छ ।  प्रहरी कम भएका ठाउँमा सम्भावित जोखिम हेरेर कतिपय स्थानमा सेनाले सुरक्षा दिएको छ । 

भारतबाट भित्रिएका नागरिकलाई  छिटो आरडिटी र पिसिआर परीक्षण दायरालाई नबढाए महाबु गाउँपालिका ठूलो जोखिममा पर्न सक्ने बताउँदै गाउँपालिका अध्यक्ष शाहीले प्रदेश सरकारले नाकामा जाँच नगरेरै भित्र्याएको आरोप लगाउनुभयो ।  

पालिकाका बासिन्दालाई विभिन्न नाकाबाट ल्याउनका लागि दश  जीप प्रयोग गरिएको छ ।  

मानिसहरु जीपको अगाडि पछाडि कोचाकोच गरेर आएका छन् । यसले पनि संक्रमणको जोखिम बढेको छ ।  जाँच गर्ने स्रोत र साधन अभाव भएको र  मानिस विनाजाँच पालिकामा भित्रिएकाले  जोखिम बढ्नाका साथै  व्यवस्थापनमा  चुनौती थपिएको उपाध्यक्ष प्रेमकुमारी बुढाले बताउनुभयो । 

पालिकाकामा पाँच सय ९२ शङ्कास्पदको स्वाब सङ्कलन गरेर प्रदेश अस्पतालमा पठाइएको र सबैको रिपोर्ट आउन बाँकी रहेको महाबु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रमेश दसौंदीले जानकारी दिनुभयो ।

३० प्रतिशतलाई  मात्र   खाद्यान्न

गाउँपालिकाको कुल जनसङ्ख्यामध्ये ३० प्रतिशतलाई मात्र उत्पादन गरेको खाद्यान्नले वर्षभरि खान पुग्ने र बाँकी ७० प्रतिशत जनसङ्ख्या बाहै्र महिना खान नपुग्ने भएपछि कामको खोजीमा भारत जानुपर्ने अनिवार्यता छ ।

अहिले विपत्मा सबै जना घर फर्कन थालेपछि पालिकामा समस्या भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले जानकारी दिनुभयो ।–रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।