काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लोकतन्त्र कमजोर पार्ने खेलमा लागेको अाराेप लगाएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा बिहीबार एक सन्देश जारी गर्दै सभापति देउवाले कोरोना प्रकोप र लकडाउनका बेला अध्यादेश ल्याएर लोकतन्त्र कमजोर पार्न खोजेको उल्लेख गरेका छन् ।
देउवाले सन्देशमा लेखेका छन् – ‘सरकारले देश कोरोनाका कारण लकडाउन गरिएका बेला संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको छ ।’
लोकतन्त्रमाथिको यो घृणित कार्यको भत्र्सना गर्न आग्रह गर्दै देउवाले ती दुई अध्यादेश तत्काल फिर्ता लिन पुनः आग्रह गरेका छन् ।गत सोमबार सरकारले ल्याएका अध्यादेश फिर्ता गर्न भन्दै कांग्रेसले आग्रह गर्दै आएको छ ।
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षाका लागि सजग रहन उनले सन्देशमार्फत सबैलाई आग्रह गरेका छन् ।
Comment