काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु गरेको ‘ट्राफिक स्वयंसेवक परिचालन शुभारम्भ’ कार्यक्रममा उनले विकास, समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताएका हुन्। ‘कुनै पनि राष्ट्रको विकास युवाका कारण भएकाले युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छ,’ उनले भने।
गृहमन्त्री थापाले संसार बदल्ने युवा जनशक्ति भएकाले युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन यो अभियानले सहयोग पुग्ने उनको भनाइ थियो।
उनले सडक दुर्घटनाका कारण वर्षेनी दुई हजारभन्दा बढी व्यक्तिको ज्यान जाने गरको भन्दै यस्ता अभियानलाई १५ दिनमात्र नभएर वर्षभरि चलाउनसके दुर्घटनामा समेत कमी आउने बताए।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष नजिकिएसँगै विदेशी पर्यटकको पहिलो नजरमा ट्राफिक व्यवस्थापन र ट्राफिक प्रहरी पर्ने भएकाले यसलाई चुस्त, दुरुस्त बनाउनु जरुरी रहेको बताए। ‘राजधानीको प्रमुख पर्यटकीयस्थल ठमेल र प्रमुख धार्मिकस्थल पशुपतिनाथमा सवारी प्रवेश निषेध गरेकाले यहाँको सौन्दर्यता बढेको छ,’ उनले भने।
अभियान उपत्यकाको दरबारमार्ग, केशरमहल, जमल, त्रिचन्द्र कलेज अगाडि, वीर अस्पताल, न्यूरोड, त्रिपुरेश्वर, कलङ्की, महाराजगञ्ज, विएण्डबी अस्पताल, कोटेश्वरलगायतका २५ स्थानमा सञ्चालन हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।
ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन २३ विद्यालय, दुई युवा क्लब, १६ यातायात प्रालि, १० ख्यातिप्राप्त कलाकार, १२ एयरहोस्टेजसहित पाँच सय स्वयंसेवकको सहभागिता रहने महाशाखाले जनाएको छ। (रासस)
Comment