काठमाडौं । मौसममा आएको बदलीका कारण आठवटा हेलिकप्टर काठमाडौं प्रवेश गर्न नसकेर काभ्रे र सिन्धुलीमा अवतरण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विभिन्न जिल्लाबाट काठमाडौंका लागि उडेका हेलिकप्टरले मौसम प्रतिकूलताका कारण आकस्मिक अवतरण गर्नुपरेको हो । लुक्लाबाट पर्यटक बोकेर काठमाडौंका लागि उडेका चार हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएका छन्। मौसमको खराबीका कारण काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका हुन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ बजेतिर नगरपालिकाको वडा नं २ हर्से र वडा नं १ र २ को सिमाना जोरपाटीमा सिम्रिक एयरका दुई हेलिकप्टर, मनाङ एयरको एक र कैलाश एयरको एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो।
प्रहरीका अनुसार लुक्ला विमानस्थलबाट काठमाडौँका लागि उडेका हेलिकोप्टर मौसम खराब भएपछि आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ।
वडा नं २ का वडाध्यक्ष हरि खतिवडाका अनुसार वडा नं १ र २ आसपासमा अवरतण गरिएका चार हेलिकोप्टरमा १८ यात्रुमध्ये १६ विदेशी र दुई नेपाली रहेका छन्। उनका अनुसार यात्रुहरुसँग गरिएको कुराकानीका आधारमा लुक्लाबाट काठमाडौँका लागि उडेका हेलिकोप्टरमध्ये दुई काठमाडौँ अवतरण गरिसकेका र चार पाँचखालमा अवतरण गरिएको हो। अवतरण गरिएका हेलिकोप्टरका पर्यटक सबै सकुशल रहेका प्रहरीले जनाएको छ।
जोरपाटी र हर्सेमा अवतरण गरिएका हेलिकोप्टरमध्ये दुईका चालक दल नेपाली र दुईका विदेशी रहेका वडाध्यक्ष खतिवडाले बताए। हेलिकोप्टर धानखेतमा अवतरण गरिएको छ। अहिले पनि पानी परिरहेको र कुहिराले ढोकिएको अवस्थामा रहेको खतिवडाले बताए।
हिजोदेखि परिरहेको अविरल वर्षाका कारण अहिले पनि जिल्लाका विभिन्न स्थानमा बादलले ढाकेर आकाश धुम्म भइरहेको छ। (रासस)
Comment